तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा विकासले गति लिँदै : ४ वटा विद्युत् आयोजना निर्माणाधीन

पर्वत ।  उर्जाखोलाको रुपमा परिचित मोदीखोला र सेतीखोलामा थप ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा ३ वटा र सेतीखोलामा १ आयोजना निर्माणाधीन छन् । पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी , तल्लो मोदी २ र मध्यमोदी जलविद्युत आयोजना र पैयुँ गाउँपालिका स्थित सेतीखोलामा सेतीखोला जलविद्युत आयोजनाले धमाधम स्टक्चरको काम गरिरहेका छन् ।
तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५.१ मेगावाट, तल्लो मोदी–२ आयोजना १० मेगावाट र सेतीखोला साढे ३ मेगावाटका आयोजना हुन् । मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यो आयोजना चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ । 
यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नु पर्ने हो । तर , सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झन्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तिका कारण तोकिएको समयमा चार्ज हुन सकेन । अब आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिनुभयो ।
सुरुमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाइलगायत कारणले आयोजनाको लागत बढेको छ । यस्तै, यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । चौधरी ग्रुपले मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत यो आयोजना निर्माण गरिरहेको हो ।
यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७० असार ७ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करिब २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान छ । आयोजनाबाट २०७५ मङ्सिरमा नै विद्युत् उत्पादन गर्ने तालिका भएपनि भूकम्प नाकाबन्दी लगायतका कारणले उत्पादन अवधि थप भएको थियो । कुनै अवरोध नभए यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो । 
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ । पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको सफल निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । यो तल्लो मोदी–१ को क्यासकेड आयोजना हो । कम्पनीले यो आयोजना अघि बढाउन २०७४ सालमा उत्पादन अनुमति पत्र लिएको थियो । मोदी बेसिनका ३ वटै आयोजनाको विद्युत् मोदी सब स्टेसनमा जोडिनेछ । सेतीखोलामा पैयुँ खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सेतीखोला जलविद्युत आयोजनाले २०७४ सालमा उत्पादन अनुमति पत्र लिएको थियो । उक्त आयोजनाको कामले यो वर्ष गति लिएको छ । ४.७३ मेगावाटको भुरुन्दी खोला स्माल जलविद्युत आयोजना भने अध्ययनकै क्रममा छ ।
यो आयोजना अमरावती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो । मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका ३ जलविद्युत आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४.८ मेगावाटको मोदी खोला, १० मेगावाटको तल्लो मोदी–१ र १ मेगावाटको पातीखोेलाले विद्युत् उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button