तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा नागरिकमैत्री प्रहरी ऐन बनाउने तयारी

जुम्ला । कर्णाली प्रदेशमा नागरिकमैत्री प्रदेश प्रहरी ऐन बनाउने तयारी भएको छ । जुम्लामा शनिवार आयोजित प्रदेश प्रहरी ऐनबारे अन्तरक्रिया कार्यक्रममा नागरिक मैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर प्रहरी ऐन बनाउनु पर्नेमा छलफल भएको हो ।

कर्णाली प्रदेश प्रहरी ऐन मस्यौदा तयारका आधार, सीमा र सम्भावनाका बारेमा नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मीबिच बहृत्त छलफल गरिएको छ ।

कार्यक्रममा पूर्व डिआइजी सुरेन्द्र बहादुर शाहले अबको प्रहरी कस्तो हुनु पर्छ ? प्रहरीको सेवा र आचरण कस्तो हुनु पर्छ ? भन्ने राय सङ्कलनका लागि जिल्ला जिल्लामा पुगेर अन्तरक्रिया गर्न थालिएको बताउनुभयो ।

प्रहरीको सेवामा सहजता, नागरिकमैत्री प्रहरी, मानव अधिकारमैत्री प्रहरी, व्यावसायिक र आधुनिक प्रहरी, निष्पक्ष पारदर्शी र प्रभावकारी प्रहरी र स्वच्छ र विश्वसनीय प्रहरी हुनुपर्ने आधारलाई प्राथमिकता दिएर कर्णाली प्रदेशको प्रहरी ऐन बनाइने पूर्व डिआइजी सुरेन्द्र बहादुर शाहले बताउनुभयो ।

कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले समाजमा कानुन कार्यान्वयनदेखि शान्ति सुरक्षालाई मजबुत बनाउन व्यवहारिक तथा आधुनिक प्रहरी सेवा आवश्यक रहेको बताउनुभयो । प्रहरी कानुनको रक्षकसँगै नागरिकको हरेक सुख दुखको साथी पनि हो भन्ने खालको सेवा दिने ऐनको निर्माणमा जुटेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

प्रदेश प्रहरी मस्यौदाका विषयमा सबै सरोकारवाला निकायसँग घनीभूत छलफल गरेर देशकै नमुना प्रहरी ऐन बनाउने कसरतमा जुटेको कानुन मन्त्रालयका कानुन अधिकृत एकराज चौलागाइले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button