तपाईँ सुन्दै हुनुहुन्छः

आज विराटनगरमा नेकपाको बृहत जनसभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आज विराटनगरमा बृहत जनसभा गर्दैछ । जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

जनसभाका लागि प्रधानमन्त्री ओली विराटनगर जाँदै हुनुहुन्छ । प्रदेश १ स्तरीय आमसभा महानगरपालिका २ शंकरपुरस्थित खुला मैदानमा गरिने छ। आमसभाको लागि तयारी पूरा भएको आमसभा जनपरिचालन सचिवालय सचिव एवं केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिनुभयो।

जनपरिचालन सचिवालय सचिव ढकालका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे श्री एयरको विमानबाट विराटनगर पुग्नुहुनेछ ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभामा दुई लाख मानिस सहभागी हुने जनपरिचालन सचिवालय सचिव ढकालले दाबी गर्नुभयो ।  जनसभामा उपस्थितिका लागि मुख्यतः मोरङ, सुनसरी, झापा र अन्य विभिन्न जिल्लामा १ हजार ५ सय सार्वजनिक बसको व्यवस्था गरिएको ढलकाल बताउनुभयो ।

ढलकालले भन्नुभयो, ‘दुईलाख समर्थकलाई सहभागी गराएर आमसभा गर्ने तयारी छ, मोटरसाइकल मात्रै १० हजार आउने अनुमान गरेका छौं।’

राष्ट्रिय युवा संघ नेपालका कोषाध्यक्ष मुकेश बुढाथोकीले कार्यक्रमका लागि ४० हजारको संख्यामा ब्यानर र झ्ण्डा बनाइएको बताउनुभयो।

प्रधानमन्त्री ओली विराटनगर आउनुहुनेभएसँगै सुरक्षा अवस्था कडा पारिएको छ। शुक्रबारदेखि नै कार्यक्रमस्थल, विराटनगरका मुख्य चौकहरुमा नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानको टोली खटिएको छ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रधानमन्त्रीको आगमनलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button