तपाईँ सुन्दै हुनुहुन्छः

अबको निकास नै निर्वाचन हो : मन्त्री रायमाझी

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेस र मधेशकेन्द्रित दलहरू चुनावका लागि तयार रहेको बताउनुभएको छ ।

प्रेस सङ्गठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै मन्त्री रायमाझीले नेकपाको अन्तर विरोध कुनै विचारसँग, नागरिकका मुद्दासँग नभई सीमित व्यक्तिको पद प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।

जनमतमा नभएका कारण प्रचण्ड–नेपाल समूह भने चुनावमा जान डराएको बताउनुहुँदै मन्त्री रायमाझीले बाहिर विरोध गरेजस्तो देखिए पनि कांग्रेस भने चुनावका लागि तयार रहेको बताउनुभयो ।

May be an image of one or more people and people standing

विकास र समृद्धिको अभियान चाल्ने समयमा पार्टीका केही शीर्ष नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध लागेर आफ्नो स्वार्थका लागि हिँडेको बताउनुहुँदै मन्त्री रायमाझीले अबको निकास नै निर्वाचन भएको बताउनुभयो ।

उहाँले कानुनी सर्वोच्चता कायम राख्न, अहिलेको संरचनालाई जोगाइराख्न र राष्ट्रलाई बचाई राख्न जनमतमा जाने उचित निर्णय भएको बताउनुभयो ।

संसद् पुनः स्थापनाको माग राखेर आन्दोलन गरिरहेका पार्टीप्रति सङ्केत गर्दै उहाँले आन्दोलनरत पक्षलाई यथाशक्य आफ्नो गल्ती स्विकार्दै जनमतमा जाने निर्णय स्वीकार गर्न आग्रह गर्नुभयो ।

भेलामा नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतम, प्रेस सङ्गठनका संयोजक गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव प्रमोद दाहाललगायतले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा नै मूलधारको नेकपा भएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button