सेवा प्रदायक निकायमा प्रशासनको अनुगमन तीव्र

जुम्ला । जुम्लाका सेवा प्रदायक निकायहरूको सेवा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुगमनलाई तीव्र पारेको छ । जुम्लाका विषयगत कार्यालयबाट दिइने सेवा ढिला सुस्ती भएको नागरिकको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत अन्य सरोकारवालाले सेवा प्रदायक कार्यालयको अनुगमनमा तीव्रता दिएका हुन् ।
नागरिकलाई प्रदान गरिँदै आएको सेवा सम्बन्धमा आएका जनगुनासो सम्बोधन गरी सम्बन्धित निकायलाई प्रभावकारी सेवा दिन अनुरोध गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा नागरिक मैत्री सेवा प्रवाहको वातावरण सृजना गर्न अनुगमनलाई निरन्तरता दिएका छौ । बेला बेला हुने अनुगमन तथा निरीक्षणले कर्मचारीहरू पनि नागरिक प्रति उत्तरदायी बन्ने देखिन्छ ।
नापी र मालपोतको सेवालाई छिटो छरितो बनाउन तालिम प्राप्त जनशक्ति दरबन्दी अनुसार व्यवस्थापन गर्नुपर्नेमा पहल भइरहेको प्रजिअ थापाले बताउनु भयो । प्रजिअ थापाका अनुसार नेपाल टेलिकम शाखा जुम्ला अस्तव्यस्त रहेको छ । जिल्लामा ग्राहकको सङ्ख्या, कुन सेवा लिने कति ग्राहक भन्ने कुनै तथ्याङ्क नराखेको पाइएको हो ।
सोमबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल लगायतको सरोकारवालाको टोलीले नेपाल टेलिकम शाखा जुम्ला, मालपोत कार्यालय र नापी कार्यालय जुम्लामा अनुगमन गरेको थियो ।
मेयर कान्तिका सेजुवालले मालपोत नापी कार्यालयको सेवा प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय जुम्लाले यसअघि जिल्लाका २६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरिसकेको छ । सरकारी कार्यालयको सेवालाई प्रभावकारी बनाउन प्रशासनले अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्