गुरुयोजना विनै विकास गर्दा जोखिममा पर्दै कुपिण्डे ताल

सल्यान। जिल्लाको प्रमुख पयर्टकीय क्षेत्र कुपिण्डे ताल जोखिममा पर्दै जान थालेको छ । तालको नजिकबाट मोटरबाटो खन्दै जाँदा ताल पुरिनुका साथै पर्यटकले फालेको फोहोरको उचित व्यवस्थापन नहुँदा प्रदुषित हुदै जान थालेको छ ।
नेपाल सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय क्षेत्र मध्य सल्यानको कुपिण्डे ताल पनि एक हो तर गुरुयोजना विना नै योजना बनाई बजेट खर्च गर्दा ताल जोखिममा पर्दै गई रहेको छ ।ताल संरक्षणका लागि पछिल्लो १५ वर्षमा झन्डै करोडौं रुपैयाँ खर्च भए पनि प्रतिफल न्यून देखिएको छ । स्थानीयका अनुसार ताल वरिपरि जथाभावी सडक खन्दा फालिएको माटोले कुपिन्डे क्षेत्र साँघुरिएको छ । फोहोर व्यवस्थापन नहुँदा ताल क्षेत्र दुर्गन्धित बनेको छ ।
सरकारी बजेटको दुरुपयोग हुँदा कुपिन्डे ताल पर्यटक आकर्षणको केन्द्र बन्न नसकेको स्थानीय कमल केसीको आरोप छ । उनका अनुसार निर्माण गरिएका अधिकांश संरचना भत्किएका छन । केही निर्माणाधीन योजना अलपत्र छन । अहिलेसम्म कुपिन्डेको विकास ३ प्रतिक्षालय, एउटा ४ कोठे भवन, प्रवेशद्वार र एक किलोमिटर सडकमा सीमित भएको उनको भनाइ छ । एउटा प्रतिक्षालय र तालको छेउसम्म जान बनाइएको रेलिङ सहितको सिँढी भत्किएको छ ।
कुपिन्डेको विकासका लागि साविक जिल्ला विकास समिति र पर्यटन बोर्डले पछिल्लो एक दशकमा झन्डै एक करोड रुपैयाँ खर्चिएका छन् । साविक भू–संरक्षण कार्यालयको ५० लाख र सांसद क्षेत्र विकास कोषको ४० लाख रुपैयाँ खर्च भएको कुपिन्डेमा संघीय सरकारले २५ लाख रुपैयाँ अनुदान दिएको थियो । प्रदेश सरकार र बनगाड कुपिन्डे नगरपालिकाले पनि ४०४० लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

उक्त रकमबाट तटबन्ध, गेट, सडक निर्माणलगायत योजना सम्पन्न भएको बनगाड कुपिन्डे–८ का अध्यक्ष कुलबहादुर पुरीले बताउनुभयो । उहाका अनुसार धेरै बजेट सडकमा खर्च हुँदा खासै प्रगति नदेखिएको हो । ‘सडकबाट खस्ने ढुंगामाटोले ताल बढी जोखिममा छ,’ उहाले भनुभयो , ‘वातावरणीय प्रभाव मूल्यांकन नगरी योजना बनाउँदा बढी क्षति देखियो ।’ वडा कार्यालयले ताल अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि चारैतिर रेलिङ बनाउने र होमस्टे सञ्चालन गर्ने योजना अघि सारेको छ ।
एकद्वार विधिबाट बजेट खर्च नहुँदा विकासका लागि आएको रकम सदुपयोग नभएको ताल संरक्षण समिति अध्यक्ष चेतबहादुर कुँवर बताउनुभयो। ‘हामीले योजना बनाए पनि रकम अर्कै उपभोक्ता समितिको नाममा आउँथ्यो,’ उहाले भनुभयो , ‘समितिबाटै काम भएको भए अहिलेसम्म खर्च भएको रकमले कुपिन्डेको मुहार फेरिन्थ्यो ।’ उहाका अनुसार दैनिक करिब २ सय जना आन्तरिक पर्यटक कुपिन्डे ताल घुम्न आइरहेका छन् । कम्तीमा खाना र बासको उचित व्यवस्था मिलाउन सके मात्रै ताल पर्यटकको आकर्षणको केन्द्र बन्ने उहाले दाबी गर्नुभयो ।
कुपिन्डेको विकासका लागि गुरुयोजना र कार्यविधि नबन्दा संरक्षणको काम प्रभावित बनेको बनगाड कुपिन्डे नगर प्रमुख गोविन्द कुमार पुनले बताउनुभयो । उनले गुरुयोजना बनाउन पहल भइरहेको जनाउनुभयो । ३० हेक्टर क्षेत्रफलमा फैलिएको तालको लम्बाइ १ हजार २ सय मिटर, चौडाइ २ सय ५० मिटर र गहिराइ ५१ मिटर छ ।








प्रतिक्रिया राख्नुहोस्