तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने सञ्चार मन्त्रीको प्रतिबद्धता

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउन लागिपर्ने बताउनु भएको हो ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरूको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकहरूलाई आग्रह समेत गर्नुभयो ।
उहाँले सामाजिक सेवाको भावना अनुसार बिरामीहरूलाई निःशुल्क सेवा दिन पनि सवारी चालकहरूको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका समाजका अध्यक्ष पूर्णलाल मोक्तानले जथाभाबी भाडा असुली गरिरहेका तथा ऐन विपरीत सञ्चालनमा आएका निजी कार, भ्यान, जिपको अनुगमन गरी कारबाही गर्न माग गर्नु भएको थियो ।
जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनका आएका सवारी साधनहरूको व्यवस्थापनमा लागिपर्ने बताउनु भएको थियो ।
भेटमा समाजले समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुँदे मागसहितको ज्ञापन पत्र मन्त्री गुरुङलाई बुझाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button