पाँच सय दुई परिवारलाई लालपुर्जा वितरण
बर्दिवास।महोत्तरीमा चार पुस्तापछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् । जिल्ला नापी कार्यालय महोत्तरीले बल्वा नगरपालिका–६ का पाँच सय दुई परिवारलाई लालपुर्जा वितरण गरेपछि उनीहरु दंग परेका छन् ।
नापी, मालपोत र बल्वा नगरपालिकाले विभिन्न सरोकारवाला निकायको उपस्थितिमा उनीहरुलाई लालपुर्जा प्रदान गरेका हुन् । लालपुर्जा हातमा परेपछि बल्वा नगरपालिका–६ का ७० वर्षीय माधो मण्डलले खुशीले गदगद भएको बताए । लालपुर्जा समात्नुअघि र समातेपछि पनि नमस्कार गर्दै उनले भने, ‘लालपुर्जा दिनभो, धन्यवाद ।’ बल्वा नगरपालिकाका मेयर विनोद यादवले लालपुर्जा थमाउँदा उनी नियालेर हेरिरहेका थिए ।
यस्तै, लालपुर्जा पाएकी सोही गाउँकी पवीदेवी मण्डलले पनि लालपुर्जा पाउँदा खुसी लागेको बताईन् । नाति–पनातिनी हुँदा समेत जग्गाको लालपुर्जा थिएन । अहिले लालपुर्जा हातमा आएपछि बल्ल आप्mनो जग्गा भएको बताईन् । उनका छिमेकी ७० वर्षीय खोदादिन अन्सारीको अनुहारमा पनि लालपुर्जा परेपछि चमक देखिन्थयो । ‘जग्गा भए पनि लालपुर्जा नहुँदा चिन्ता थियो, कसैले लग्ने पो हो कि भन्ने डर थियो,’ अन्सारीले भने, ‘अब आफ्नै जग्गा भएको छ ।’
२०७० मै जग्गा नापी भएको थियो । तर, लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौँदेखि भोगचलन गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गर्न थालिएको बल्वा नगरपालिका मेयर विनोद यादवले बताउनुभयो ।मेयर यादवले वास्तविक जग्गाधनीले लालपुर्जा पाउनेमा विश्वस्त रहन आग्रह गर्दै सार्वजनिक र सामुदायिक जग्गाको संरक्षण गर्न नापी, मालपोत तथा नगरपालिकासमेत प्रतिबद्ध रहेको बताउनुभयो ।
नापी कार्यालय महोत्तरीका प्रमुख राकेशकुमार झाले आफू महोत्तरी आएको एक महिनाभित्रै लालपुर्जा वितरण गर्न सुरु गरेको बताउनुभयो । उहाँले यसअघि गौशाला नगरपालिका बासिन्दालाई लालपुर्जा वितरण गरेको र अहिले बल्वामा वितरण भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्