राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भन्सार विभाग तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका विभागहरुबीचमा राष्ट्रिय एक द्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा भन्सार विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र र पुशसेवा विभागका महानिर्देशकहरुले राष्ट्रिय एक द्वार प्रणाली लागु गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एक द्वार प्रणालीको प्रभावकारी कार्यान्वयनले व्यथितिको अन्त्य गर्न सहयोग पुग्ने भएकाले जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
मन्त्री अर्यालले प्रविधिको प्रयोग गरी छिटो, छरितो र गुणस्तरीय सेवामार्फत सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न एक द्वार प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एक द्वार प्रणाली अवलम्बन गर्दा कार्य सम्पादन पारदर्शी हुने र सुशासन प्रवर्द्धन हुने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले एक द्वार प्रणालीको अवलम्बनले सेवाग्राहीको राजधानी आउनु पर्ने बाध्यता हट्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्