मध्य पहाडी लोकमार्ग लमजुङस्थित विवादित क्षेत्रको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको टोलीद्वारा अवलोकन
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको टोलीले मध्य पहाडी लोकमार्ग अन्तर्गत लमजुङ खण्डको स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्येको पुष्पलाल मध्य पहाडी लोकमार्गको विवादित लमजुङ खण्डमा स्थलगत अवलोकन गरेका हुन ।
लामो समयदेखि विवाद भई काम हुन नसकेपछि बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ सहित योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया लगायतको टोलीले उक्त विवादित क्षेत्रको अवलोकन गरी विवाद सुल्झाउन छलफल गरेका हुन् ।
छलफलको क्रममा मुख्यमन्त्री गुरुङले अबको तीन वर्षभित्र लोकमार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकोले यो वर्ष डिपिआर गर्ने बताउनुभयो । उहाँले लोकमार्गको मापदण्ड कति राख्ने भन्ने सन्दर्भमा नेपाल सरकारले निर्णय गर्ने भएकोले सरकारको निर्णय अनुसार अगाडि बढ्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले जनतालाई मर्कामा नपार्ने भन्दै अधिकतम घरहरूलाई जोगाउँदै लोकमार्ग निर्माण गरिने भएकोले लोकमार्ग निर्माण कार्यमा सबैको साथ चाहिने बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा भएको छलफलबाट छिटोभन्दा छिटो डिपिआरको कामलाई अगाडी बढाउने र क्षति विवरण आएपछि मुआब्जा लगायतको कामलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा निर्णय गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
मध्य पहाडी लोकमार्गको लमजुङको सुन्दर बजार खण्ड अन्तर्गत सुन्दर बजार नगरपालिका वडा नं. ५,६र७ को मुख्य बजारमा भएको विवादको कारण करिब ८ किलोमिटर र मध्य नेपाल नगरपालिकास्थित भोर्लेटारको खण्डको ३ किलोमिटर सडकमा निर्माण कार्य सुचारु हुन सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्