तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा १७ हजार बढीको राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता

अछाम  । जिल्लावासी सबै नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने उद्देश्यले अछाम जिल्लामा सञ्चालित शिविरमार्फत बुधवारसम्म १७ हजारभन्दा  बढीको विवरण दर्ता गरिएको छ ।

अभियानका रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने कार्य अन्तर्गत जिल्लाका चार स्थानीय तहमा १७ हजार सात सय ३३ जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आगामी ३ महिनामा सम्पूर्ण नागरिकको विवरण सङ्कलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शिविर सञ्चालन गरिएको हाे । जिल्लाको रामाराेशन गाउँपालिकामा पनि शिविर सुरु गरिएको छ ।

अभियानको रुपमा अछामका तीन स्थानीय तहबाट सुरु भएका शिविरहरू अहिले जिल्लाका पाँच स्थानीय तहमा सञ्चालन गरी राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन तथा व्यक्तिगत घटना अद्यावधिक गर्ने कार्य भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

जस अनुसार बुधवार सम्म मंगलसैन नगरपालिकामा ८ हजार छ सय १४ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ४ हजार ६ सय ४९ जना, कमलबजार नगरपालिकामा ३ हजार १ सय २२ जना र साँफेबगर नगरपालिकामा १ हजार ३ सय ४८ जनाको विवरण सङ्कलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ ।

अछाम जिल्लामा आगामी ३ महिनाभित्र परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने कार्य सकिसक्ने लक्ष्य रहेको छ । मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्तीमा वडामा रहेका र नागरिकता प्राप्त गरेका सबैको विवरण सङ्कलन कार्य सम्पन्न भैसकेको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडाका वाँडा र बस्ती गरी २ ठाउँमा २/२ जना अपरेटर सहित खटिएको टोलीले ८ दिनमा ९ सय ६२ जनाको विवरण सङ्कलन गरी फर्किसकेको बताइएको छ ।

अछाम जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि कञ्चनपुर जिल्लाबाट ४७ जना तालिमप्राप्त अपरेटर आएका छन् भने उनीहरूले तदारुकताका साथ काम गरिरहेका बताइएको छ । हाल विभिन्न वडा तहमा सञ्चालन गरिएका शिविरमा नागरिकको सहभागिता वृद्धि भई घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button