चिसोबाट प्रभावित १ सय २५ मुसहर परिवारलाई राहत

जनकपुरधाम । कठ्याग्रीदो जाडोका कारण प्रभावित बनेको जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ र ८ का अति गरिब मुसहर समुदायका १ सय २५ परिवारमा आज राहत वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा भएको राहत वितरणमा प्रति परिवार १ बोरा चामल, दाल, नुन, खाने तेल, कम्बल, बच्चाका लागि न्यानो लुगा एवं जुत्ता प्रदान गरिएको छ ।
विगत १० दिन देखिको कठ्याग्रीदो जाडोका कारणले ती समुदायका विपन्न वर्गका व्यक्तिहरू निक्कै मारमा परेका थिए । राहत पाएका मुसहर जातिका व्यक्तिहरू निक्कै खुसी भएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष श्रृजना थापाले गरिब तथा विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । सङ्घले २०४१ साल देखि नै समाजसेवाको क्षेत्रमा कामकाज गर्दै आएको श्रीमती थापाले व्यक्त गर्नु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले चिसोको समयमा नेपाल प्रहरी श्रीमती सङ्घले यस क्षेत्रका अति विपन्न मुसहर जातिका परिवारमा राहत वितरण गरेर निक्कै सराहनीय कामकाज गरेको बताउनु भयो ।

नेपाल प्रहरी श्रीमती सङ्घ प्रदेश नंं २ का अध्यक्ष कुसुम लत्ता सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रहरीका प्रदेश नंं २ का प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख सहितका अधिकारीहरू उपस्थित रहनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्