धनुषाधाममा आजदेखि मकर मेला सुरु

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा रहेको प्रसिद्ध धनुषाधाममा आजदेखि मकर मेला सुरु भएको छ ।
आजदेखि सुरु भएको मकर मेला एक महिनासम्म चल्नेछ । माघ महिनाको प्रत्येक हप्ताको आइतबार तथा मङ्गलवार धनुषाधाममा मकर मेला लाग्ने गरेको छ ।
मकर मेलामा सहभागी हुनका लागि धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु आउने गरेका छन् ।
प्रसिद्ध रहेको धनुषाधाममा त्रेता युगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पुरा गर्नका लागि भगवान् रामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषधाममा खसेको धार्मिक मान्यता रहेको छ ।
भगवान् शिवको पवित्र पिनाक धनुष भएका कारणले सो ठाउँमा मकर अवधि भरि ठुलो धार्मिक मेला लाग्ने गरेको छ । खास गरेर धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पुरा हुने भएकाले दर्शनार्थीहरुको अत्यधिक भिड लाग्ने गरेको छ ।
्धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भए पनि अन्य दिन कम मात्रामा आउने गरेको मन्दिरका पूँजारी स्वामी भरत दासले जानकारी दिनुभयो । धनुषाधाम मन्दिरमा करिब १ हजार वर्ष पुरानो पिपलको रुख रहेको छ ।
यसका साथै पिपलको जरामा आकाश गङ्गा पनि रहेको छ । आकाश गङ्गाको पानी कहिल्यै पनि सुक्ने गरेको छैन । सुकेको खण्डमा अनिष्ट हुने धार्मिक मान्यता रहेको पुजारी दासले बताउनुभयो । जनकपुरधामबाट १८ किलो मिटर उत्तर पूर्वको कुनामा धनुषाधाम मन्दिर रहेको छ ।
यसै बीच जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुषसागर, कमलाको उत्तरायणी मुहानम, दुग्धमतिसहितको पोखरी एवं सरोवरहरूमा स्नान गर्नेहरूको बिहानदेखि नै घुइँचो रहेको छ । यस दिन यस धार्मिक पोखरी, सरोवर एवं नदिमा स्नान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्