तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा यौनजन्य दुर्व्यवहार विरुद्धको विशेष अभियानको सुरुवात

अछाम । अछाम जिल्लामा सार्वजनिक स्थान र सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको विशेष अभियान सेफ्टी पिन क्याम्पियन को सुरुवात गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा विभिन्न क्षेत्रका सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडी बढाइने अभियानको बारेमा जिल्ला प्रहरी कार्यालय अछामले जानकारी गराएको छ ।

विशेष गरी सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि अभियान थालनी गरिएकाले सबैलाई साथ सहयोग गर्न जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जनक बहादुर बोहराले आग्रह गर्नुभयो ।

जिल्लाका बजार क्षेत्र तथा सार्वजनिक यातायात सेवाका काउन्टर रहेका कमल बजार, साँफेबगर, मंगलसेन बजार लगायतका क्षेत्रमा सचेतना अभियानको कार्यक्रमका साथै प्रचारप्रसार सामाग्री वितरणसहित टाँस गरिने प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।

छलफल कार्यक्रममा पछिल्ला तीन आर्थिक वर्षमा महिला तथा बालबालिकाको क्षेत्रमा गरेका संस्थागत प्रयास र कार्यहरूको बारेमा प्रहरी सहायक निरीक्षक लोकराज अबस्थीले जानकारी गराउनु भएको थियो ।

बालबालिका तथा महिला माथि हुने हिंसाको अवस्था हेर्दा विशेष गरी जिल्लामा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाह, बहुविवाह बाल श्रम शोषण लगायतका मुख्य हिंसा जिल्लामा रहेका अबस्थीले जानकारी दिनुभयो ।

छलफलमा सहभागी महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका सरोकारवाला तथा सञ्चारकर्मीले अभियानलाई अभियानको रुपमा मात्र नभई प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी कार्यालयमार्फत हुने अभियानलाई सफल बनाउन र आ–आफ्नो तर्फबाट यसअघि खेलेको भूमिका र आगामी दिनमा गर्न सकिने भूमिकाको बारेमा प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button