हाम्रो पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनु हो : मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । मन्त्रालय अन्तर्गत संस्थान, बोर्ड, समिति तथा परियोजनाहरूको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
यो वा त्यो कारण देखाएर कोही पनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उहाँले किसानका समस्या समयमै समाधान हुने गरी कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
अबको सिजनका निम्ति किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिनुभयो ।
समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गत अरू जतिपनी प्रगति देखिए पनी त्यसले सही मानेमा प्रगति नठहर्ने समेत बताउनुभयो । ‘आज गयो भोलि गयो समय गइरहन्छ । ठ्याक्कै सिजन आइसकेपछि रुवाबासी सुरु हुन्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘ किसानलाई मल दिन सकिएन भने, तपाई हामीले जति दुख गरेपनि, जति प्रगति गरेपनी देखिँदैन । त्यस कारण समयमा मल किसानलाई पु¥याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस् ।’

विगतका कार्यबाट शिक्षा लिँदै भोलिका दिनमा धोका नपाउने गरी कार्ययोजना बनाएर अगाडी बढ्न उहाँले निर्देशन दिनुभयो । ‘दीर्घकालीन रुपमा समस्याको समाधान हुने गरी अगाडी बढौँ । दीर्घकालीन समाधानको खाका के हो ?’, मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईँहरू भुक्तभोगीहरूले अलिकति मेहनतपूर्वक कार्ययोजना बनाउनुस् । योजना बनाएर अहिले देखि नै अगाडी बढौँ ।’
मलको आपूर्ति र वितरणको समस्याको समाधान दीर्घकालीन हिसाबले सोच्नुपर्ने उहाँको भनाई थियो । सात वटै प्रदेशमा मलको भण्डार स्थापना गर्ने गरी आफु अगाडी बढेको भन्दै उहाँले भण्डारण गर्ने संरचना बनाए पनी मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन । हामीले संरचना खोजेको होइन मल खोजेको हो । त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, विवादित नहुने गरी ल्याउनुप¥यो ।’
मङ्गलवार नेपाल पशु चिकित्सा परिषद्, कृषि सामग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान तथा कपास विकास समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विस्तार आयोजना, लाइस्टक सेक्टर इनोभेसन आयोजना, खाद्य तथा पोषण व्यवस्थापन आयोजना रानीजमरा कुलेरिया सिँचाइ आयोजना र समुदायमा आधारित सिँचाइ आयोजना (सिएमआएसपी)ले आ–आफ्नो गतिविधिहरू प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा मन्त्रालयका सचिवद्वय डा.योगेन्द्रकुमार कार्की र डा. पेमनारायण कँडेलले कुनै पनि क्षेत्रको सुधारका लागि लाइभस्टक सेक्टर मास्टर प्लान आवश्यक रहेको र यसको व्यवस्थाका लागि आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयमा देखिएको बेरुजुप्रति सजक रहन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई नियमित कार्यक्रमसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्