बागलुङको सिगानामा डेढ करोडको सुन्तला उत्पादन
बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । अत्यधिक वर्षाका कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तला उत्पादनमा गिरावट आएको स्थानीयको भनाई रहेको छ ।
बगैँचा विस्तार र मलजल राम्रो गरेपनि औंशे किराको प्रकोपबाट सुन्तला उत्पादनमा कमी आए पनि यस वर्ष डेढ करोडको सुन्तला उत्पादन भएको किसान टोपबहादुर खड्काले जानकारी दिनुभयो । गत वर्ष सिगानामा सुन्तला बिक्रीबाटै दुई करोड भित्रिएको थियो ।
सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइनसकेको अर्का किसान रामबहादुर खड्का बताउनुभयो । सुन्तला खरिदका लागि डोके व्यापारी आएपनि चैतमा बिक्री गर्ने गरी १० टन सुन्तला शीतभण्डारमा राखिएको उहाँले जानकारी दिनुभयो ।
सिगानामा अहिले प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ । सिगानामा राम्रो फल दिने १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट २५ हजारदेखि ५ हजारसम्मका सुन्तला उत्पादन हुन्छ ।
वडाध्यक्ष राजन जिसीका अनुसार, वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । ती बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिनेछन् । तीन वर्षपछि सिगानाबाट पाँच करोडको सुन्तला निर्यात हुने वडाले अपेक्षा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्