तपाईँ सुन्दै हुनुहुन्छः

बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्य पहिलो चरणको छनोटपछि १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो चरणका लागि ४४ खेलाडी छनोट गरेको जानकारी दिनुभयो ।

झन्डै ३ साता चलेको प्रशिक्षणबाट फरवार्ड विमल घर्ती मगर भने पहिलो सातामै घाइते भएका थिए । उनको चोट निकै गम्भीर रहेको र शल्यक्रियाका लागि कतार जाने प्रक्रिया अघि बढाइएको छ ।

टोलीबाट बाहिरिने अन्य खेलाडीमा अधिकांश खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा परेका थिए । बाहिरिने खेलाडीमा फरवार्ड विमल राना राष्ट्रिय टोलीबाट खेलिसकेका एकमात्र खेलाडी हुन् ।

बाहिरिने अन्य खेलाडीमा गोलरक्षक देव लिम्बु, डिफेन्डरहरु रन्दीप पौडेल, अमित तामाङ, मिडफिल्डरहरु जय गुरुङ, नितिन थापा, रजत तिवारी तथा फरवार्डहरु दीपेश आले मगर, राजेश परियार, प्रेजेन तामाङ, रेजिन सुब्बा र राजीव लोप्चन रहेका छन् ।

डिफेन्डर सुमन अर्याल घाइते भएकाले हाललाई टोलीबाट बाहिर राखिएको छ । उनको चोट ठिक भएको खण्डमा भने टोलीमा फिर्ता बोलाइने एन्फाले जनाएको छ ।

महर्जनको नेतृत्वमा टोलीले विश्वकप छनोटका लागि तयारी गरिरहेको छ । नेपालले सन् २०२१ को मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button