तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु दिवस मनाइँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफा डाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ ।
जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ७७ वटा जिल्ला समन्वय समितिका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यालयका प्रमुख वा प्रतिनिधिहरू, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको उपस्थिति रहने छ ।
राष्ट्रिय जलवायु सम्मेलन मनाउनका लागि सबै तयारी पुरा भएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं. ९ गुफा डाँडामा विगतका वर्षहरू जस्तै यस बर्ष पनि दोस्रो जलवायु दिवस तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समन्वय समितिले जनाएको छ ।
जलवायु दिवसको अवसरमा अन्तरक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको छ । यो बर्ष ७८ वटा झण्डात्तोलन गर्ने जलवायु परिवर्तन एवम् कोभिड–१९ सम्बन्धी सन्देशमुलक ब्यानर प्रदर्शन, जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया गर्ने प्रमुख तामाङले जानकारी दिनुभयो ।
गत वर्षहरूमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम  यो बर्ष कोभिड–१९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुफा डाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button