असहाय विपन्नलाई इस्लामिक विकास बैङ्कको सहयोग
सप्तरी । राजविराजस्थित एक गैरसरकारी संस्थाले दुई सय जना असहाय तथा विपन्नलाई राहत सामाग्री वितरण गरेको छ ।साउदी अरबस्थित इस्लामिक विकास बैङ्कको सहयोगमा मुद्दि मोहरम स्मृति कल्याणकारी प्रतिष्ठानले बिहीबार पहिलो चरणमा २ सय जना असहाय तथा विपन्नलाई २५ केजी चामल, १० केजी दाल, १० केजी आलु, ५ लिटर खानेतेल, ३ केजी प्याजका साथै स्यानिटाइजर, मास्क र साबुनलगायतका सामाग्री वितरण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष हासिम अन्सारीका अनुसार १ हजार जना कोरोना प्रभावित असहाय तथा विपन्नलाई राहत वितरण गर्ने योजना रहेको छ । राहत वितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि राजविराजमा एक सय बेडको अस्पताल निर्माणका लागि समेत बैङ्कले सहयोग गर्ने आश्वासन दिएको अन्सारीको कथन छ ।
प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई दिइएको राहत बाँकी ८ सय जना समेतलाई क्रमशः वितरण गरिने बताउनु भएको छ ।
हामीले एक हजार जनाको सूची तयार गरिसकेका छौँ, उनले भने, “बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत वितरण गर्ने छौँ ।”
यता राहत पाएपछि असहाय र विपन्न समुदाय निकै हर्षित देखिन्थे । राहत पाएर घर फर्किँदै गरेकी राजविराज ४ की सीता कार्कीले भनिन्, प्रतिष्ठानले गरेको कार्य मानवीय दृष्टिकोणबाट समेत महत्त्वपूर्ण छ, हामी निकै खुसी छौँ ।
समस्यामा परेका गरिब, असहायलाई मानवीय सहायताको दृष्टिले गरिएको राहत सामाग्री वितरण कार्य सर्हानिय रहेको भन्दै स्थानीयले सहयोगी र आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्