रेखदेख नहुदा दलित छात्रवासअव्यवस्थित
सोलुखुम्बु । सोलुखुम्बुमा २०६३ सालमा स्थापना गरिएको दलित छात्रवास भवन अव्यवस्थित बन्दै गएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित तत्कालीन हिमाली उत्पीडित समुदाय उत्थान मञ्च सोलुखुम्बुले सञ्चालन गरेको दलित छात्रवासको भवनको भित्र भाग अव्यवस्थित बनेको हो ।
व्यवस्थापन समितिले रेखदेखमा चासो नदेखाउँदा भवनको भुइतलाका काठ भत्किएको, बिजुलीको तार व्यवस्थापन नभएको, घेराबारको उचित प्रबन्ध नभएको दुई वर्ष छात्रावासमा बसेर अध्ययन गरेका विद्यार्थी रामबहादुर विश्वकर्माले गुनासो गर्नुभयो । बर्षौदेखिको समस्या समाधानका लागि व्यवस्थापन समितिलाई आग्रह गरेको भए पनि अटेर गरेको उनको भनाइ छ ।
अध्ययनका लागि सदरमुकाम बस्दा विद्यार्थीलाई आर्थिक भार बढी पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीलाई अध्ययन सहजीकरणको लागि बनाइएको छात्रवासमा खानेपानीको उचित प्रबन्ध नहुँदा झनै समस्या भएको लिखुपिके गाउँपालिका घर भई छात्रवासमा बस्दै आएका विद्यार्थी सङ्गीता घिमिरेको गुनासो छ ।
अहिले करिब एक दर्जन विद्यार्थी बस्दै आएको छात्रावासमा १५ वटा कोठा, तीन वटा शौचालय र भान्सा कोठा बजेट अभावमा मर्मतका लागि समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर नेपालीले बताउनुभयो । ४० जना विद्यार्थी क्षमता रहेको चार रोपनी क्षेत्रफलमा रहेको छात्रवासको व्यवस्थापनका लागि सोलुदूधकुण्ड नगरपालिकालाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्