तपाईँ सुन्दै हुनुहुन्छः

विदेशको कमाई वर्षाको भलपानी, कृषिमै छ जिन्दगी

सल्यान । जब वर्षा लाग्छ खहरेहरूमा भलपानी बग्छ, अनि हिउँद लाग्दै गर्दा खहरे सक्दै जान थाल्छन् । यस्तै विदेश गयो केही पैसा कमायो, एक छिन रमाइलोमा सकिन्छ फेरी उतै गयो यसरी कति दिन चल्छ र ? निरन्तरको आम्दानी भएन भने जीवन चलाउन मुस्किल पर्छ । त्यसैले विदेशको कमाई एक छिनको भलपानी जस्तै हुने र आफ्नै ठाउँमा निरन्तरको कमाई र स्वरोजगारीका लागि अवसर खोज्नेक्रममा सल्यानका युवाले कृषि पेसालाई मुख्य आधार बनाएका छन् ।

वषौं विदेशमा परिश्रम गरेर पनि भविष्यको कुनै ठेगाना नभएपछि सिद्धकुमाख गाउँपालिका–१ बेलायतीघारीका राजेश कुमार बस्नेत कृषि व्यवसायमा जुटेका छन् ।

दुबई र मलेसिया गरी १० वर्ष मेहनत गरेर फर्केका बस्नेत गत वर्षदेखि व्यावसायिक भैँसी पालनमा जुटेका छन् । राजेशको बस्नेत भैँसी फर्ममा ठुला ७ र साना ६ गरी १३ वटा भैँसी पाल्दै आएका छन् । उनले भने ‘१० वर्षसम्म विदेशमा रहँदा हासिल गरेको ज्ञान भनेको विदेशमा जत्तिकै दिनरात मेहनत गर्ने हो भने स्वदेशमै गर्न सकिन्छ भन्ने हो ।’

बस्नेत बिहानदेखि नै भैँसीको स्याहार सुसारमा खट्ने गरेका छन् । युवा अवस्थाका राजेशलाई भैँसी पालन व्यवसायमा सन्तुष्टि मिलेको बताउँछन् । उनले भने ‘बिहानै उठेर भैँसीको स्याहार सम्भार गर्ने, दूध दुहुने, बजारमा लान तयारी गर्ने गर्दा समय बितेको थाहा हुँदैन ।’

दैनिक ३० देखि ३५ लिटर दूध बिक्री हुँदै आइरहेको उनको भनाई छ । बजारको माग अनुसार दूध पुर्‍याउन नसकेको राजेशकी श्रीमती तारा बस्नेतले बताइन । सधैँ अर्काको देशमा काम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने सोचका साथ भैँसी पालन गरेको ताराको भनाई छ ।

दूध बिक्रीबाट मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुँदै आइरहेको बताउँदै ताराले भनिन ‘विदेशमा भएको भए पनि श्रीमानले यति धेरै कमाउदैन्थ्ये होला तर अहिले यहाँ राम्रै  कमाई भइरहेको छ ।’

‘बिहानै उठेर भैँसीको स्याहार सम्भार गर्ने, दूध दुहुने, बजारमा लान तयारी गर्ने गर्दा समय बितेको थाहा हुँदैन ।’

हालसम्म झन्डै १४ लाख लगानी लागिसकेको बताउँदै ताराले आगामी दिनमा यही व्यवसायलाई वृद्धि गर्ने सोच रहेको बताइन ।

विदेशमा अर्काको काम गर्नुभन्दा यहाँ धेरै फरक र आनन्द छ, बस्नेतले भने, विदेशमा ६ बजे बिहान उठेर हिँड्यो एकैचोटी साँझ आयो कोही इष्टमित्र छैन घरपरिवार छैन की बिस्तरा छ की डिउटी छ । यहाँ त सबै छ, आफूलाई केही भइहाल्यो भने पनि सहयोग गर्ने अर्को छ यो हिसाबले यहाँ धेरै आनन्द लाग्छ ।

उनले भने म पनि यो ठाउँ छाडेर हिँडेको थिए । अहिले आएर जग्गाको महत्त्व बुझे र काम गर्दैछु । अब गाउँमा बाटोघाटो खुलेको छ । स्थानीय तहहरूले ठाउँ अनुसार खेती गर्न घाँस लगाउन र किसानहरूलागि प्रोत्साहन दिने र उपकरणहरू उपलब्ध गराउने र आवश्यकता अनुसार प्राविधिक पठाइदिने गर्‍यो भने कोही पनि युवा विदेश जानु पर्दैन यही अवसर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button