सरकारी मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
कञ्चनपुर । सरकारी मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेमराज खातीले चलाउने गरेको सरकारी मोटरसाइकल चोरी भएको दुई हप्तापछि इलाका प्रहरी कार्यालय बेलडाँडीले मोटरसाइकलसहित चोरीमा संलग्न बेलडाँडी–२ बस्ने २२ वर्षीय सुवास पाण्डेयलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार, बेलौरी– १० भुडा नजिकै नेपाल भारत सीमा क्षेत्रमा लुकाइछिपाई राखेको अवस्थामा म १ ब ४०९ नम्बरको यामाहा एफजेड मोटरसाइकललाई बरामद गरी शनिबार बेलडाँडी ल्याइएको छ ।
उक्त मोटरसाइकलको अगाडिको चक्कामा रङ्ग लगाएको, पछाडिको नम्बर प्लेट नभएको र चाबी समेत तोडिएको अवस्थामा बरामद गरेको उहाँले बताउनुभयो ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पाण्डेयलाई कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्तिहरू पनि संलग्न भएको हुनसक्ने हुँदा थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्