वीरगञ्जमा पाँचतारे स्तरको होटल सञ्चालनमा आउँदै
वीरगञ्ज । वीरगञ्जका युवा व्यवसायी सुनील कुमार खेतानद्वारा झण्डै एक अर्ब रुपैयाँको लगानीमा वीरगञ्जको बहुअरीमा पाँच तारे होटल हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आउने भएको छ ।
वीरगञ्जमा पहिलो पटक पाँच तारे स्तरको होटल एण्ड रिसोर्ट संचालनमा आउन लागेको हो । २ विघा क्षेत्रफलमा फैलिएको पाँच तारे होटलको ६५ प्रतिशत काम सकिएको खेतानले बताउनुभयो । २०७३ सालदेखि निर्माण थालिएको होटलका संरचनाहरु ९२ हजार वर्गफिटमा फैलिएको छ ।
भारतको चर्चित होटल ब्रान्ड क्र्लक्स ग्रुप अफ होटलले व्यवस्थापकीय जिम्मेवारी लिएको छ । यो समूहको भारतको जयपुर, लखनउ, आग्रालगायत भारतभर ३९ वटा होटल छन् । अन्तर्राष्ट्रिय स्तरमा भने हिमाल वाटर पार्क एण्ड भिलेज होटललाई नै पहिलो चेन होटलको रुपमा अघि बढाएको छ ।
होटलमा एक्जुकेटिभ स्वीट ४ वटा, एक्जुकेटिभ ८ वटा, स्वीट ८ वटा, किङ २४ वटा र ट्वीन १६ वटा गरी ६० वटा कोठा रहनेछन् । होटल तर्फको भवन बन्ने क्रममै छ । होटलमा २ हजार जनासम्म अट्ने सभाहल, डेढ सयदेखि ३ सय जनासम्म अट्ने अन्य ४ वटा हल र १५ जना देखि ५० जना सम्मको थप ३ वटा हल गरी ७ वटा हल निर्माण गरिएको खेतानले बताउनु भयो ।
होटलमा मंसिर १५ गतेदेखि नै कन्भेन्सन हल र रेस्टुरा सञ्चालनमा छ । होटलमा क्यासिनो, इन हाउस बेकरी, स्वीमिङ पुल, सांगीतिक कार्यक्रम गर्न ओपन एयर थियटर, पार्क, ओपन एयर किचेन, बच्चाहरुका लागि रिक्रियसन रुम, बार, लंग, स्नुकर लगायत इन्डोर गेम खेल्ने ठाउँ र जीम क्लबको समेत सुविधा दिने तयारी गरिएको सञ्चालक सुनिल खेतानले बताउनु भयो ।
होटल पूर्ण रुपमा सञ्चालनमा आइसकेपछि ५० जना भन्दा बढीले रोजगारी पाउनेछन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका सञ्चालक खेतानले एक वर्षभित्र होटल पूर्ण रुपमा सञ्चालनमा आउने दावी गर्नुभयो । होटल परिसरमा अर्गानिक खेतीसँगै गाई पालन गर्ने सोच पनि व्यवसायी खेतानको छ ।
प्रोजेक्ट म्यानेजर रवीन्द्र रैनाले वीरगञ्जका अन्य होटल अरु भन्दा पृथक बनाउने सोचले काम भईरहेको बताउनुभयो ।
वीरगञ्ज सहर र औद्योगिक क्षेत्रको मध्य भागमा होटल छ । दुवैतिरबाट मानिसहरु आएर सेवा लिन पायक पर्ने गरी होटल निर्माण गरिएको र वीरगञ्जबाट महंगो विवाहका लागि भारत तथा पोखरा सौराहा जाने ग्राहकलाई आकर्षण गर्ने एवं भारतको विवाहलाई समेत लक्षित गरी होटल निर्माण गरिएको खेतानले बताउनुभयो ।
वीरगञ्जमा दियालो लर्डस् प्लाजापछि यो होटल दोस्रो अन्र्तराष्ट्रिय चेन होटल बनेको छ । वीरगञ्जमा यसअघि चार तारे होटलको रुपमा युवा व्यवसायि एवं उद्योगपति अनिल रुगटाको लगानीमा होटल दियालो लड्स सञ्चालनमा आएको छ ।








प्रतिक्रिया राख्नुहोस्