तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

बझाङ । बझाङ सदरमुकाममा रहेको पुरानो सत्यवादी माध्यामिक विद्यालयका शिक्षकहरुलाई कोरोना देखिएपछि विहिवारबाट विद्यालय बन्द गरिएको छ ।

चैत्रदेखि बन्द भएको विद्यालय मंसिर ३ गते बाट सुचारु गरिएको थियो ।

सामान्य विसन्चो भएका विद्यालयका पाँच जना शिक्षकमा कोरोना पुष्टि भएपछि पुष पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको शिक्षक राजेन्द्र प्रशाद जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो केहीदिन विद्यालय सञ्चालन भएर पठाइ सुचारु गरिएको थियो तर शिक्षकहरुमा कोरोना पोजेटिभ देखिएपछि केही दिनका लागि पुनः विद्यालय बन्द गरिएको हो ।

३५ जना शिक्षक रहेको यस विद्यालयमा १६ सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् ।

मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले काठमाडौँमा रहेको दरवार हाइस्कुललाई १९६३ मा शाखाको रुपमा सत्यवादी पाठशाला स्थापना गरेका थिए । अहिले सत्यवादीमा कृर्षि प्राविधिक शिक्षा साइन्स कमर्सलगायतका विषय पढाइ हुने गरेको छ ।

जिल्लामा अन्य विद्यालयहरु भने मंसिर पहिलो साता बाटै सुचारु गरेका छन् ।

जिल्लामा अहिलेसम्म ८ सय ९० जना कोरोना सङ्क्रमित मध्ये अहिले ५६ जना सक्रिय सङ्क्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । कोरोनाका कारण तीन जनाको मृत्यु भएको थियो भने अन्य निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button