लैङ्गिक हिंसामा परी हत्या भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै मैनबत्ती प्रज्वलन

सप्तरी । राजविराज जेसीजको संयोजन र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको अयोजनामा राजविराजस्थित गजेन्द्र चोकमा सप्तरीलगायत देशका विभिन्न भागमा लैङ्गिक हिंसामा परी निर्मम हत्या भएका बालबालिका, महिलाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न राजविराजमा बुधबार साँझ मैनबत्ती प्रज्वलन गरिएको छ ।
सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्या गर्न बाध्य किशोरी, महोत्तरीमा बलात्कारपछि हत्या गरिएकी बालिकालगायत हिंसामा परी हत्या भएका महिला, बालिकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको हो ।
मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षता र सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा मैथिली महिला परिषद्की उपप्राध्यापक वन्दना मिश्र, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवालले मन्तव्य राख्नु भयो । कार्यक्रममा हत्याहिंसा गर्नेलाई कडा कारबाही गर्न र हिंसाविरुद्ध आवाज उठाउन वक्ताहरूले जोड दिनुभयो ।
पाँच वर्षीया मोनाश्रीबाट मैनबत्ती बाल्न सुरु गरिएको कार्यक्रममा सहभागी सबैले मैनबत्ती बालेर भावी दिनमा हिंसामा परेर कसैले मृत्युवरण गर्नु नपरोस् भनेर शान्ति र न्यायको कामना गरे ।
श्रद्धाञ्जली सभा पश्चात् हिंसामा परेर मृत्यु हुने ज्ञात–अज्ञात महिला, बालिकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरेर कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घका प्रदेश २ अध्यक्ष शङ्कर शारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नगर बाल सञ्जालका अध्यक्ष अनिषा ठाकुर, राजविराज जेसीजका पूर्व अध्यक्ष कृष्ण देव, महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव मनु खनाल, उच्च अदालत बार इकाइकी पार्वती चौधरी, मैथिली महिला परिषद्, मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
१६ दिने अभियानको अन्तिम दिन विश्वव्यापी मानवअधिकार घोषणा पत्र जारी भएको दिन बिहीबार राजविराजस्थित महादेव मन्दिरबाट दिउँसो १ बजे निकालिने सचेतना ¥यालीले नगरपरिक्रमा गरी मानवअधिकार दिवस मनाइने आयोजक समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्