मापदण्ड विपरीत खोला उत्खनन गर्ने ६ वटा जेसीवी प्रहरी नियन्त्रणमा
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ३ र ४ मा पर्ने बगुन खोलाबाट मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खननमा प्रयोग गरिएका ६ वटा जेसीवी कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले बगुन खोलाबाट जेसीवी नियन्त्रणमा लिएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने बताउनु भएको छ ।
वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनअनुसार पुलपुलेसा, कलभर्ट, नहर, वन, चुरे र तटबन्धको ५ सय मिटरभित्रबाट ढुंगा, बालुवा, ग्राभेल र माटो झिक्न नपाइने मापदण्ड निर्धारण गरिए पनि यहाँका नदी तथा खोलानालामा विधिअनुसार उत्खनन हुन सकेको छैन ।
बेदकोट नगरपालिकाले नदीजन्य वस्तु उत्खननका लागि वातावरण प्रभाव मुल्यांकन गरेको भएपनि मापदण्ड विपरीत उत्खनन भइरहेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन गरेर ठेक्कामार्फत मापदण्डमै नदीजन्य सामाग्री उत्खनन गरिरहेको दाबी गर्नु भएको छ ।
नगरपालिकाले मापदण्ड अनुसार उत्खनन भनेपनि खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले बगुन खोलाबाट जेसीवी नियन्त्रणमा लिएको हो । बेदकोट नगरपालिकाले नगरभित्रका खोलामा नदीजन्य सामग्री उत्खननका लागि अमृत कन्ट्रक्सनलाई ८५ लाखमा ठेक्का दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्