कर्णालीका ७९ स्थानीय तहमा स्काउट पुर्याइने
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक स्थानीय तह स्काउटको तालिम पुर्याइने बताउनु भएको छ ।
शनिबार वीरेन्द्रनगरमा नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीले नकारात्मक चिन्तनलाई सृजनात्मक बनाउँदै प्रदेशका ७९ वटै स्थानीय तहसँगै विद्यालयमा स्काउट विस्तार गरिने बताउनु भयो ।
उहाँले युवाहरुको व्यक्तित्व विकासका लागि स्काउट अनिवार्य रहेको औल्याउनु भयो । प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नेपाल स्काउटको भूमिका शुरुदेखि नै महत्वपूर्ण रहेकाले बालबालिका तथा युवा वर्गको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित तथा स्वावलम्बी बनाईने बताउनु भयो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया देश विकासमा युवा शक्ति परिचालन गराउन स्काउटलाई देशव्यापी विस्तार गर्ने अभियानमा मन्त्रालय जुटेको जनाउनु भयो । उहाँले मुलुकमा थुपै्र सामाजिक संघ, संस्था सञ्चालनमा रहेपनि स्काउटको काम अन्यको भन्दा फरक र प्रशंसायोग्य रहेको बताउनु भयो ।
तदर्थ कर्णाली प्रदेश स्काउटका नवनियुक्त सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीलाई संरक्षकको भूमिका प्रदान गरिएको छ भने प्रदेशका सामाजिक विकास मन्त्री रावललाई स्काउटको प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ ।
तदर्थ ११ सदस्यीय कर्णाली प्रदेश समितिको संयोजकमा कमल बोहरा तथा सदस्यहरुमा गगन बोगटी, विष्णुमाया शाही, गणेश भण्डारी, गोपाल घिमिरे, सृजना परियार, धमेन्द्र केसी, तिलक खत्री, नरेश सिंह, जगत रोका र ज्ञानसिंह लोहार रहेका छन् ।
त्यस्तै स्काउटका राष्ट्रिय प्रशिक्षक कमल देउजाको अगुवाईमा ६ सदस्यीय कर्णाली प्रदेश सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा खगेश्वर गौतम, राजुशरण न्यौपाने, लालपुरा शाही, नैनसिंह खत्री र रुपेश भण्डारी रहेका छन् ।
कार्यक्रममा नेपाल स्काउटका केन्द्रीय संयोजक लोकबहादुर भण्डारी, पत्रकार महासंघ केन्द्रीय सचिव लक्ष्मी पुन लगायतले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिनु भएको थियो ।
अन्तराष्ट्रिय स्वयमसेवी संस्था स्काउटको गतिविधि नेपालमा २००९ सालबाट शुरु भएको हो । तर २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधि कार्यक्रम शुरु गरिएको हो ।
हाल विश्वका १ सय ८६ मुलुकमा स्काउट संगठन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्