मन्त्री भट्टराईद्वारा पशुपतिमा स्थापना गरिएको शव दाह गृहको अनावरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शव दाह गृहको अनावरण गर्नुभएको छ ।
पशुपति विकास कोषको दाता परिचालन अन्तर्गत रहेर एभरेस्ट बैङ्क लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शव दाह गृह) मेसिनको स्थापना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरूको पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने काम भइरहेको बताउनुभयो ।

त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयका सरोकारहरूको समेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रूप दिने काम भइरहेको छ, अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यही गुरुयोजना अधीनस्थ भएर हुनेछन् ।’
कोभिड –१९ का कारण बन्द रहेका धार्मिक÷सांस्कृतिक गतिविधिहरू अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेकाले आगामी पुस १ गतेबाट पशुपति पनि खुला रहने उहाँले बताउनुभयो ।
पशुपतिका धार्मिक÷ सांस्कृतिक गतिविधि खुला गर्दा स्थानीय निकाय र सरोकारवाल अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न÷गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेसिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव चलाउने हाम्रो हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदाभन्दा धेरै कमी आउने र एउटा शव चलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने जानकारी आफूले पाएको उल्लेख गर्दै उहाँले संस्कार भनेको मानव जातिले विकास गरेका प्रविधीहरुसँगै परिष्कृत हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो–‘यो आधुनिक शव दाह गृहले हिन्दुहरूले गर्ने मृत्यु संस्कारमा कुनै कमी आउन दिँदैन ।’

कार्यक्रमलाई एभरेस्ट बैकका कार्यकारी प्रमुख जिके नेगी र कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पनि सम्बोधन गर्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्