ताप्लेजुङका तीन पालिकामा अस्पतालको सिलान्यास
ताप्लेजुङ । ताप्लेजुङमा सोमबार तीन आधारभूत अस्पताल भवनको सिलान्यास भएको छ । आठराई त्रिवेणी र सिरिजङ्घा गाउँपालिकामा १० तथा फक्ताङलुङ गाउँपालिकामा ५ शय्याको अस्पतालको सिलान्यास गरिएको हो ।
आठराई त्रिवेणीको हाङपाङमा बन्ने अस्पतालको प्रदेश १ संसदीय दलका उपनेता टंक आङवुहाङले सिलान्यास गर्नुभएको थियो । केन्द्र सरकारले १० शैय्याको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार र ५ शय्याका लागि ७ करोड ११ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ । क्रमागत योजना अन्र्तगत बजेट आउने र दुई वर्षभित्र भवन निर्माण गरिसक्नुपर्ने सिरिजङ्घाका अध्यक्ष टिकाराम गुरुङले बताउनुभयो ।
ताप्लेजुङका ६ पालिकाका लागि बजेट आएको भएपनि तीन वटाले सोमबार सिलान्यास गरेनन् । सिदिङ्वा, मिक्वाखोला र मैवाखोला गाउँपालिकाले सिलान्यास नगरेका हुन् । जग्गा उपलब्ध नभएकाले गर्न नसकिएको सिदिङ्वाका प्रमुख नरबहादुर कडरियाले बताउनुभयो । ‘जग्गा प्राप्त गर्ने साथ सिलान्यास गर्ने बताइएको छ ।’
मैवाखोलामा भने संघबाट आधिकारिक पत्र नआएका कारणले आज सिलान्यास हुन नसकेको वडा नं २ का वडाध्यक्ष सुरेन्द्र लिम्बुले बताए । यहाँ १५ शय्याको लागि बजेट छ । सिदिङ्वा र मिक्वाखोलामा ५ शय्याको बन्ने छन् । ताप्लेजुङका नौ मध्ये तीन वटा पालिकामा अस्पताल निर्माणको बजेट आएन ।








प्रतिक्रिया राख्नुहोस्