तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरबका आयोजनाहरुको काममा अलमल गर्नेलाई छुट हुन्नः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रगति देखिने गरी काममा केन्द्रीत हुन सम्बन्धित मन्त्रालय र आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज आयोजित राष्ट्रिय गौरबका आयोजनाहरुको समिक्षा बैठकमा उपप्रधानमन्त्री पोखरेलले गौरवका आयोजनाहरुको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने गरी काममा केन्द्रित हुनु पर्नै बताउनुभयो ।

उहाँले राजनीतिक तथा मन्त्रालयगत समन्वयका लागि प्रधानमन्त्री कार्यालय तयार रहेको तर आयोजना तहबाटै गर्नुपर्ने काममा अलमल गर्ने छुट भने आयोजना प्रमुखहरुलाई नहुने स्पष्ट पार्नुयभो ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यप्रगति प्रधानमन्त्री कार्यालयमार्फत महत्वका साथ हेर्ने कार्य प्रारम्भ भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय गौरवका आयोजना निर्माणमा देखिएका समस्यामा समाधानतर्फ केन्द्रीत भएर लक्ष्य अनुसारको प्रगति हासिल गर्नुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयगत समन्वयको अभाव र निर्माण समाग्रीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय र प्रधानमन्त्री कार्यालयको तहबाट छलफल अघि बढाउन पहल गरिने जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेंलले आयोजना समयमा नै सम्पन्न गर्ने क्रममा देखिएका समस्याको पहिचान गरेर त्यसको समाधान त्यसै अनुरुप खोज्न आवश्यक रहेको बताउनुभयो ।

समिक्षा बैठकमा विभिन्न ६ वटा राष्ट्रिय गौरबका आयोजनाका आयोजना निर्देशकहरुले आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुतीका क्रममा आयोजना निर्देशकहरुले मन्त्रालयगत समन्वयको अभाव, मुआब्जा वितरणलगायतका समस्याका कारण आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकिरहेको गुनासो गर्नुभएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button