तपाईँ सुन्दै हुनुहुन्छः

हर्षोल्लासका साथ छठ पर्व सम्पन्न

सुनसरी । सुनसरीसहितको विभिन्न जिल्लामा सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै लोक आस्थाको महान् पर्व छठ सम्पन्न गरिएको छ ।
कोरोना महामारीका कारण  सङ्क्रमणको जोखिम हुने भन्दै कतिपय ब्रतालुहरुले आफ्नो घर आँगन र सार्वजनिक स्थलमा पोखरी बनाएर त कतिपयले घर घरमै पोखरी बनाएर व्यक्तिगत ढङ्गले छठ पर्व सम्पन्न गरेका हुन् ।
विगत वर्षहरूमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरू यस वर्ष महामारीका कारणले गर्दा त्यति उत्साहजनक देखिएनन् । तराईमा बसोबास गर्ने मधेसीहरू मात्र होइन, छठ पर्वलाई पहाडी मुलका हिन्दु धर्माबलम्बीहरुले पनि श्रद्धापूर्वक छठ मनाएका छन् ।
षष्ठी तिथिका दिन साँझब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिई छठ सुरु गरेका थिए ।  साँझको सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ  । साँझ ‘खरना’विधि सम्पन्न गरेर निराहार ब्रतथालेका ब्रतालुको उपवासको समय बिहान सूर्योदय हुँदासम्म झन्डै ३६ घण्टा चल्छ  ।
बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ । 
कात्तिक शुक्ल चौथीका दिन ‘नहायखाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले चौथो दिन छठ सम्पन्न गर्ने गर्छन् ।
छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानी घाटबाट घर फर्केपछि प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ ।
छठमा सूर्यलाई देखाइएको ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार प्रसादको रुपमा खाने, खुवाउने क्रमभने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ ।
मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मित मितिनी र अन्य इष्टमित्रको घरमा छठको कोसेली पठाउने चलन छ । यसरी पठाइने कोसेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइनेक्रम दिनभर चलिरहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button