तपाईँ सुन्दै हुनुहुन्छः

फोरजी टावर सञ्चालनमा नआउँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बु । विद्युत जडानमा भएको ढिलासुस्तीका कारण सोलुखुम्बुको सल्यानमा निर्माण गरिएको फोरजी टावर सञ्चालनमा नआउदा स्थानीय सेवाग्राहीलाई सास्ती भएको छ ।

द्रुतगतिको इन्टरनेट र चुस्त टेलिफोन सेवाका लागि नेचासल्यान गाउँपालिका–२ स्थित थामडाँडामा निर्माण गरिएको फोर लेग टावर सञ्चालनमा नआउँदा नेचासल्यानवासीले सञ्चारमा सास्ती खेप्नुपरेको हो ।

उक्त टावर सञ्चालनमा नआउँदा सञ्चार असुविधा खेप्नु परेको स्थानीय प्रकाश भट्टराईले गुनासो गर्नुभयो । गत भदौ महिनामा निर्माण सम्पन्न भएको नेपाल टेलिकमको टावरमा आवश्यक उपकरण जडान भइसके पनि विद्युत नहुँदा फोरजीसहितको टेलिफोन सेवा सञ्चालनमा ल्याउन नसकिएको नेपाल टेलिकमको कार्यालय सोलुखुम्बु जनाएको छ ।

विद्युत जडानको जिम्मा पाएको त्रिवेणी लघुजलविद्युत आयोजनाले विद्युतीकरणको काम ढिलाइ गर्दा सेवा सञ्चालनमा समस्या भएको टेलिकमले जनाएको छ । विद्युतीकरणका लागि गत भदौमा रकम भुक्तानी गरिएपनि हालसम्म विद्युतिकरण नभएको हो ।

नेचासल्यान गाउँपालिका–२ सल्यानका वडाध्यक्ष भेषकुमार बास्तोलाले पटकपटक विद्युत आयोजनाको उपभोक्ता समितिलाई विद्युत जडानका लागि ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।

त्रिवेणी लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष धनजन राईले चाडपर्व मनाउन जिल्ला बाहिर रहेकाले फर्कनसाथ काम सुरु हुने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button