तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा प्रत्येक घरपरिवारलाई चाडबाडको बेला चिनी र नुन वितरण

डोटी । डोटीको के.आई.सिंह गाउँपालिकाले चाडबाडको समयमा गाउँपालिकाभित्रका प्रत्येक घरधुरीलाई चिनी र नुन वितरण गर्न लागेको छ ।
गाउँपालिकाभरिका करिब ५ हजार घरधुरीमा चिनी र नुन वितरण गर्न लागिएको के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए ।
गत वर्ष पनि गाउँपालिकाका करिब ४ हजार ७ सय घरधुरीलाई चिनी र नुन वितरण गरिएकोमा यस वर्ष घरपरिवार सङ्ख्यामा वृद्धि भएकाले ५ हजार परिवारलाई चिनी र नुन वितरण गर्न लागिएको अध्यक्ष शाहीले बताए ।
सुपथ मूल्य सहकारी पसलमार्फत प्रत्येक घरधुरीलाई रु ६० का दरले ५ के.जी. चिनी र रु. ८ का दरले आयोडिन नुन गरी रु. ३ सय २४ बराबरको चिनी र नुन वितरण भइरहेको के.आई.सिंह गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हर्क बहादुर विष्टले जानकारी दिनुभयो ।
धनी, गरिब, जातजाति, धर्म, वर्गका सबैलाई चाडपर्वको बेला मिठो मसिनो खानका लागि नुन र चिनी कसैलाई अभाव नहोस् भन्ने हिसाबले गाउँपालिकाको रु. ८ लाख रकमबाट चिनी र नुन वितरण गर्न लागिएको जनाइएको छ ।
उक्त काम वडागत रूपमा सुरु भइसकेकाले अबको केही दिनभित्र पूरा गरिसक्ने के.आई.सिंह गाउँपालिकाका सहायक लेखापाल डम्मरलाल भट्टले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button