पर्सा, बारा र रौतहटका गरी थप ८ जनामा कोरोना संक्रमण
वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा गरिएकोे पिसिआर परिक्षणको क्रममा पर्सा, बारा र रौतहटका गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ८८ जनाको स्वाब परिक्षण गर्दा पर्साका ४, बाराका २ र रौतहटका १ जना गरी थप ७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । पर्सामा संक्रमण पुष्टि भएकाहरु सबै वीरगञ्जकै रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४, ८, १० र १५ का एक–एक जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ र २० का एक–एक जनामा संक्रमण भेटिएको छ । यस्तै एक जना रौतहट यमुनापुरी गाउँपालिका वडा नम्बर ५ का महिलामा पनि संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो ।
यसैगरी नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय एक पुरुषको जिन स्पोर्ट प्रविधिबाट परिक्षण गराउँदा कोरोना पोजेटिभ भेटिएको डा. चौरसियाले बताउनु भयो ।
ज्वरो, रुघाखोकी सँगै स्वास्वमा समस्या आएपछि उनलाई आजै अस्पताल ल्याईएको थियो ।
संक्रमण पुष्टि भएकाहरु १९ देखि ७२ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २१ देखि २९ सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्