करिव चार वर्षपछि नेप्से परिसूचक १७०० विन्दु नाघ्यो
काठमाडौं । बुधबारको नेपाली शेयर बजारमा लगानीकर्ताहरु उत्साहित हँुदा करिव चार वर्ष पछि नेप्से परिसूचक १७०० विन्दु माथि पुगेको छ ।
बुधबार नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको छ ।
यसअघि २०७३ चैत २९ गते पनि नेप्से परिसूचक १७०९.८२ विन्दुमा पुगेको थियो । त्यसबेला एक अर्ब ९० करोड ७४ लाख रूपैयाँ मात्रै कारोबार भएको थियो । यस्तै २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेको थियो ।
यस दिनको कारोबार रकममा पनि सुधार आएको छ । बुधबार १९५ वटा कम्पनीहरुका एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयरहरु ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा किनबेच भएका छन् ।
बजारमा मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ । यस दिन फाइनान्स समुहको सूचक बहेक सबै सूचकहरु सकारात्मक देखिएका हुन् ।
व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।
बुधबार कारोबारमा आएका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्युटी फण्डको इकाई मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै नागरिक लगानीको कोष र विशाल बजारको शेयरमूलय ९.९८ प्रतिशतले एनआईसी ग्रोथ फण्डको इकाई मूल्य ९.९० र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १८ करोड ८६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ६५ लाख नागरिक लगानी कोषको १५ करोड ४५ लाख र नेपाल लाइफको १५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५३ वटाको घटेको छ । १८ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।








प्रतिक्रिया राख्नुहोस्