तपाईँ सुन्दै हुनुहुन्छः

बामदेव गौतमविरुद्धको रिटको सुनवाई आज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिटको सुनवाई आजको संवैधानिक इजलासमा तोकिएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा हप्ताको दुई दिन बुधबार र शुक्रबारमात्र सुनुवाई गर्ने संवैधानिक इजलासले महिनादिन अघि हेर्दाहेर्दै राखेको गौतमविरूद्ध परेको रिटको पेशी आज तोकिएको हो ।

गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले हेरिरहेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उहाँलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रियसभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिनुभएको थियो ।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी गौतमलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button