महाकाली नदिमा निर्माणाधीन पुलमा स्थानीयको अवरोध सृजना
कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदिमा निर्माणाधीन पुलमा स्थानीयले अवरोध सृजना गरेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ का केही स्थानीय व्यक्तिहरूले महाकाली नदिभित्रको जमिन आफ्नो नाममा भएको र आफुहरूसंग जग्गा धनी पुर्जा पनि भएको दाबी गर्दै पुल निमार्णमा अवरोध गरेका छन् ।
नेपाल सरकारको ठूलो लगानीमा तीन वर्ष पहिले देखि निर्माण थालिएको चार लेनको पक्की पुल आसपासको क्षेत्र र पहुँच मार्गमा पर्ने जग्गाको महाकाली पुल आयोजना कार्यालयले यसअघि नै मुआब्जा वितरण गरिसकेको छ । आयोजनाले पटकपटक जग्गाको नापजाँच गरी सो समयमा मुआब्जा दाबी गरेका स्थानीयलाई मुआब्जा दिई सम्पूर्ण अवरोध किनारा लगाइसकेको थियो ।
यद्यपि सो समयमा महाकाली नदिभित्रको जमिनको मुआब्जाका लागि कसैले दाबी नगरेको महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख ध्रुव कुमार झाले जानकारी दिनुभयो । तर पक्की पुल निमार्णको आधा काम भइसकेपछि नदि भित्रको जमिन आफ्नो भनी केही स्थानीयले दाबी गरेपछि आफुहरू अचम्मित भएको उहाँको भनाइ छ । बारम्बार अनेक बहानामा अवरोध सृजना गर्ने कार्यले विकास निर्माण योजना सम्पन्न हुन नसक्ने निमित्त प्रमुख झाले बताउनु भयो । निर्माण कम्पनीले तीब्रताका साथ काम अगाडि बढाउँदा स्थानीयले अवरोध सृजना गर्नु काम हुन नदिने षड्यन्त्र हुनसक्ने महाकाली पुल आयोजना कार्यालयको ठहर छ ।








प्रतिक्रिया राख्नुहोस्