एकै दिनमा एक सय ११ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन एक सय ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
दशैँ तिहारका बेला अधिकांश मानिसहरु आ–आफ्नो घरमा आउने कुरालाई मध्यनजर गर्दै प्रहरीले विशेष योजना बनाएर बुधबार एकैदिन उक्त संख्यामा प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
‘अपराध गरेपछि कानुनको दायराबाट कोहि भाग्न सक्दैन् भन्ने चेतना जगाउन र अपराध गरेपछि पनि बिना सजाय मानिसहरु खुलेआम समाजमा रहँदा शान्ती सुरक्षामा समेत चुनौती आउनुका साथै अपराध गर्न प्रोत्साहन हुँने हुँदा हामीले लामो समयको निगरानी र विशेष योजना बनाएर यतिका संख्यामा प्रतिवादीहरुलाई पक्रन सफल भएका हौँ ।’ प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले भन्नुभयो ।
पक्राउ परेकाहरु कर्तव्यज्यान, जवरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध, हातहतियार खरखजना, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका बिभिन्न मुद्धाका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतले फैसला गरी संजाय तोकिएर पनि फरार रहेका ९७ जना पुरुष र १४ जना महिला गरी एक सय ११ जनालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पठाइएको छ ।
चाडपर्वका बेला धेरै मानिसको आवागमन हुने भएकाले प्रहरीले दशैँ अगाडिदेखि नै निगरानी गर्दैै आएको थियो । पक्राउ पर्नेमा १८ वर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरार व्यक्ति समेत रहेका छन् ।
२०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका थुमपोखरा घर भई लामो समयदेखि नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जवरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका बालसिंह गुरुङ, जवरजस्ती करणी उधोगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायत विभिन्न जघन्य मुद्दामा संलग्न रहेका तर लामो समय देखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्