राष्ट्रपति भण्डारीले भारतीय स्थलसेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा हिजो काठमाडौं आउनुभएका स्थलसेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताउनुभयो ।
नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुनुहुन्छ ।
नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गर्नुभएको र भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औं सेनापति हुनुहुन्छ ।
नेपाल भ्रमणका क्रममा स्थलसेनाध्यक्ष जनरल नरवणेले आजै सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक गारत निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
आजैै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नुहुने र एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्र्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष जनरल नरवणेले भोलि औपचारिक भेटवार्ता गर्नुहुने छ ।
भोलि नै स्थल सेनाध्यक्ष जनरल नरावणे शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनुहुने छ ।
नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।








प्रतिक्रिया राख्नुहोस्