प्रधानाध्यापक घरडी मृत फेला
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक ४५ वर्षीय गोबिन्द घरडी मृत फेला परेका छन् ।
४५ बर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक मृत फेला परेका हुन् । मृतक घरडीको शरिरमा निलडाम र घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले जानकारी दिनुभयो ।
यसका साथै उहाँको साथमा नगद ८५ हजार समेत भेट्टिएको छ । प्रधानाध्यापक घरडी हिजो तलब बुझ्न भनि गोकुलेश्वर गएका बुझिएको छ । घरडीसंगै रहेका अन्य ४ जना शिक्षकपनि तलब बुझ्न आएको भएपनि उनीहरु हिजो नै घर फर्किएको बताईएको छ ।
घरडी घर नफर्केपछि खोजी गर्दा आज बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन् । घरडीको कसैले हत्या गरेको हुनसक्ने आफन्तको आशंका रहेको छ । प्रहरीको टोली घटनास्थलमा पुगि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच मृतकको आफन्तले महाकाली राजमार्ग अवरुद्ध पारेका छन् । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् ।
साथै उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दा शव समेत नबुझ्ने अडान रहेको छ । आफन्त र प्रहरी प्रशासनबिच छलफल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्