तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा बन्दै गरेको पदमार्गको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्धारा अवलोकन

पर्वत- गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २ वर्षअघि निर्माणको काम थालिएको पर्वतको नयाँपुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिलेजारी रहेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीय स्थल भमरकोटमा जङ्गलमै बास बसी पदमार्गको अबलोकन गर्नुभएको छ । पदमार्गको अबलोकन साथै प्रचार प्रसार गर्न तिमिल्सिना संगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी र प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी लगायतको टोली एक रात जङ्गलमै बास बसी पदमार्गको अबलोकन गर्नुभएको हो । टोलीले ३१ सय मिटर उचाईमा रहेको माटेसम्म अबलोकन गरेको हो ।

पर्वतको नयाँपुलदेखि देउपुर हुदै भमरकोट सम्मको दूरी २८ किमी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट २ वर्षअघि निर्माण कार्य अगाडी बढेको थियो । गत आवमा संघ सरकारको समेत १० लाख रुपैयाँ बजेट पदमार्गमा खर्च भएको छ ।

सम्पन्न भएको १७ किलोमिटर पदमार्गको अबलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक सम्वृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकिय गन्तव्यलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताउनुभयो । भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडक को सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तब्य बन्न सक्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

तिमिल्सिनाले यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्ने बताउदै पोखरा संग यसलाई जोडेर पर्यटकीय पुर्वाधार बनाउने योजना अघि सारिएको जानाकारी गराउनुभयो ।

भमरकोटसंगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँ भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरुङ्गा लगायतका ठाउँमा घरबास (होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन उहाँले सुझाव दिनुभयो ।

देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग एक वर्षभित्र बनाइसक्ने लक्ष्य छ । अझै ११ किलोमिटरको काम बाँकि रहेको खड्काले बताउनुभयो । पदमार्गमा झण्डै साढे २ करोड रुपैयाँ खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेका खड्काले बताउनुभयो ।

थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । ठूला घाँसे मैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । यसरी बन्दै गरेका पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button