तपाईँ सुन्दै हुनुहुन्छः

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

सिमकोट- हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ ।

गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो । विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गथ्र्यो । यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको लिमीका गिरमेत तामाङले गुनासो पोख्नुभयो ।

बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताउनुभयो । लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताउनुभयो । उहाँका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button