राखेपको बोर्ड बैठक अब तिहारपछि मात्र बस्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक अब तिहारपछि मात्र बस्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेपको पहिलो बोर्ड बैठक तिहारपछि बोलाउने तयारी गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख छ । परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने र सदस्य सचिवले अध्यक्षसंगको परामर्शमा बैठकमा छलफल हुने विषयको सूचि सहितको सूचना बैठक भन्दा कम्तीमा सात दिन अगावै सबै बोर्ड सदस्यलाई पठाउनुपर्ने उल्लेख छ । बैठकले मुख्य रुपमा परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्नेछ ।
मन्त्री विश्वकर्माका अनुसार परिषद्ले पहिलो बैठकका लागि वार्षिक कार्यक्रमहरु बनाउने कामहरु गरिरहेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएसंगै परिषद्को तत्कालिन बार्ड भंग भएको थियो ।
परिषद्को ३७ जनाको बोर्डमा अझै ओलम्पिक कमिटि, विश्व विद्यालय र उद्योग वाणिज्य महासंघका प्रतिनिधि आउन बाँकी छ । मन्त्री विश्वकर्माले यसै हप्ताभित्र बाँकी सदस्यलाई पूर्णता दिने तयारीमा भइरहेको जानकारी दिनुभयो ।
यसपटक बस्ने परिषद्को पहिलो बोर्ड बैठकले राखेपको कार्यकारी समितिका लागि चार जना सदस्यको नियुक्ति समेत गर्नेछ । नयाँ ऐनले राखेप सञ्चालनका लागि ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने बोर्ड बैठक झण्डै दुई वर्षदेखि बस्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्