तपाईँ सुन्दै हुनुहुन्छः

बिमाकम्पनीले वास्ता नगरेको किसानको गुनासो

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वोर्लहवाका किसान रोहित पासवानले लामो समयदेखि केरा खेतीलाई आर्थिक उपार्जनको मुख्यस्रोत बनाउनुभएको छ । तर विभिन्न समयमा यसमा हुने क्षति रोक्न बिमा गर्न चाहेपनि बिमा कम्पनीले वेवास्ता गर्दा पीडित बनेको उहाँको गुनासो छ ।

पुस्तौंदेखि तरकारी खेती गर्दै पासवानले ०७५ सालदेखि केरा खेती गर्दै आउनुभएको छ । ८ विगाहा जग्गा भाडामा लिएर केरा खेती सुरु गर्नुभएका पासवानको खेतमा अहिले करिब १३ हजार केरा छन् ।

तर, केरा खेतीको बिमा गर्न विमा कम्पनी हिचकिचाउंदा बर्षेनी लाखौंको क्षति व्यहोर्नुपरेको पासवानले बताउनुभयो । अन्य खेतीको तुलनामा केरामा धेरै क्षति हुने भएकाले बिमा कम्पनीहरु बिमा गर्न रुचि नदेखाउने उहाँको भनाइ छ ।

सरकारले प्रोत्साहन स्वरुप बिमामा अनुदान दिएको छ । तर किसानले चाहेर पनि बिमा गर्न नपाएको उहांले बताउनुभयो । पटकपटक सरकारले कृषि विमाको लागि रुपन्देही जिल्लामा तोकेको सिद्धार्थ बिमा कम्पनीमा गएपनि कर्मचारीले खेतीको अवलोकनको लागि आउंछौं भनेपनि नआएको उहांले बताउनुभयो ।

२५ सय विरुवाबाट केरा खेतीको शुरु गर्नुभएका पासवानले हाल जि नाईन, जि नाईन १३ हजार र स्थानीय जातको केरा लगाउनुभएको छ । साढे २ लाख रुपैयाँबाट केरा खेती सुरु गर्नुभएका पासवानको लगानी १८ लाख पुगेको छ । जग्गा पाएमा अझै केरा खेती बिस्तार गर्ने योजनामा पासवान हुनुहुन्छ ।

१३ हजार केराका बोट भएपनि अहिलेको हावाले २ हजार बोट ढलेर केरामा क्षति हुने गरेको उहाँको भनाइ छ । २ लाख बराबरको हावाका कारण केरामा क्षति भएपनि चालु वर्षमा १५ देखि २० लाखको केरा बिक्री हुने अनुमान उहाँको छ ।

मल नपाउँदा केरा खेती फस्टाउन नसकेको पासवानले बताउनुभयो । वर्षमा प्रतिबोट ३ सय ६५ ग्राम मल आवश्यक भएपनि मल प्रयाप्त नभएका कारण अनुदानको रुपमा पैसा दिनुभन्दा किसानलाई प्रयाप्त मल दिनुपर्ने सुझाव उहाँको छ ।

बीमामा आर्कषण बढाउन अनुदान संगसंगै अब प्रदेश सरकारले प्रत्येक स्थानीय तहहरुमा अभिकर्ताहरु परिचालन गर्ने तयारीमा रहेको प्रदेश ५ का कृषि निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button