कोभिड–१९ को जोखिममा पनि उद्योग दर्ता गने क्रम बढ्दो

तनहुँ । कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता ठप्प रहेको थियो । तर अहिले भदौ यता बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा भन्दा आव २०७६/०७७ बढी उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने बढेका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार एक सय ३४ उद्योग दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा एक हजार २७४ मा पुगेको छ ।
उद्योगको प्रकृतिअनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ५०३, उत्पादनमूलक ७७, पर्यटनमूलक तर्फ ४२२, सेवामूलक २६४ र निर्माणमूलक ८ वटा दर्ता भएका छन ।
उक्त आर्थिक वर्षमा ऊर्जामूलक, खनिजजन्य तथा विज्ञान तथा सूचना प्रविधिमा उद्योग कुनै पनि दर्ता भएका छैनन् ।
यसैगरी अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ४९९ वटा दर्ता भएका थिए ।
यस्तै उत्पादनमूलक १४३, सेवामूलक २९५, पर्यटनमूलक १९२ र निर्माणमूलकमा ६ वटा दर्ता भएका थिए भने ऊर्जामूलक, खनिजजन्य र विज्ञान तथा सूचना प्रविधिमा उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।
कोरोनाका कारण गत चैत देखि असारसम्म उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएका घरेलु तथा साना उद्योग तनहुँकी उद्योग शाखा प्रमुख मेनका रिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले त्यो बेला अफिस खुलेन र कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन ।”
नवउद्यमीका लागि दर्तामा राजस्वमा छुट र पुराना उद्योगीका लागि नविकरणमा पनि छुट भएको उहाँले जानकारी दिनुभयो । उद्योग दर्ता बढेपनि राजश्व सङ्कलन भने घटेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा उद्योग दर्ताबाट ८८ लाख ४० हजार ३०५ रुपैँया राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्ष २०७६÷०७७ मा ५० लाख ४६ हजार ३०० मात्र राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
दर्ता र नविकरणको शुल्क घटेका कारण राजश्व संकलनमा कमि भएको उद्योग शाखा प्रमुख रिमालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०७७/०७८ को ३ महिना मध्ये असोज महिनामा सबैभन्दा बढी उद्योग दर्ता भएको घरेलु कार्यालयले जनाएको छ ।
साउन महिनामा १४१, भदौमा १०५ र असोज महिनामा २८२ वटा दर्ता भएको कार्यालयले जनाएको छ ।
कृषि तथा वनजन्य उद्योगमा तीनै तहको सरकारले अनुदान दिएका कारण बढी मात्रामा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ ।
गत वर्षबाट पाँच लाख रुपैयाँभन्दा कम पूँजी लागनीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्