तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको जलजलाका जनप्रतिनिधीको भत्ता कोरोना कोषमा

पर्वत – पर्वतको जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको चाडपर्वभत्ता(दशैँभत्ता) कोरोना उपचार कोषमा जम्मा गरेका छन् । जलजला गाउँपालिकाको विहिवार सम्पन्न कार्यपालिका बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

चाडपर्व भत्ताका लागि बुझेको रकम कोरोनाको उपचारमा खर्च गर्ने निर्णय गरि बिहिबार नै कोरोनाकोषमा जम्मा गरिएको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।

गाउँपालिकामा समुदायस्तरमा संक्रमण फैलिएपछि ‘एक घर एक पिसिआर’ अभियान सञ्चालन गरेको गाउँपालिकाले पालिकाभित्रका गम्भीर बिरामीलाई अस्पतालसम्म पुर्याउने र उपचारका लागि न्यूनतम १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

‘एक घर एक पिसिआर’ अभियानबाट पोजेटिभ रिपोर्ट आएका तर स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितलाई होम आईसोलेशनमा बस्न आग्रह गर्ने र गम्भीर अवस्थाका संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गर्ने र उपचारका लागि न्यूनतम १० हजारसम्म आर्थिक सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले मंगलबारदेखि नै समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारमा भने सबैको स्वाब संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब ५ सय जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button