सप्तरीको कञ्चनरुपमा कोभिड अस्पताल स्थापना
सप्तरी– सप्तरीको कञ्चनरुप नगरपालिकामा बिहीबार पाँच बेडको कोभिड अस्थाइ अस्पतालको उद्घाटन भएको छ ।
कञ्चनरुप ८ कंचनपुर स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको कम्पाउण्ड भित्र स्थापना गरिएको कोभिड १९ अस्पतालको नगर प्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सबै क्षेत्र राम्रो भएर मानिसको स्वास्थ्य राम्रो भएन भने त्यसले कुनै प्रगति गर्न नसक्ने भएकाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै केहि दिन भित्र प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा र सर्पदंशकको उपचार सेवा समेत सुरु गर्न लागिएको जानकारी गराउनु भयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कञ्चनरुप नगरपालिकाले कोभिड १९ को संक्रमणलाई रोकथाम गर्नका लागि सुरु देखि नै सचेत भएर काम गरेको र आज कोभिड १९ को अस्पताल उद्घाटन हुनु राम्रो पक्ष भएको बताउनु भयो ।
मनिसहरुको हेलचेक्रयाइका कारणले गर्दा कोभिडको संक्रमणमा बृद्धि भएको समेत आचार्यले जानकारी गराउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले स्वास्थ्यकर्मीहरुले आफ्नो मनोबल नघटाइ गुणस्तरीय सेवा दिनुपर्ने बताउनु भयो ।
उपप्रमुख निरु पोखरेलले सबैको सहयोगमा नगरपालिकाले कोभिड संक्रमणलाई रोकथाम गर्न क्वारेन्टिन ,आइसोलेसन हँदै कोभिड अस्पतालको उद्घाटन सफल भएको बताउँदै कुनै बिरामीलाई औषधी उपचार गर्न बाहिर जानु नपर्ने किसिमले नगरपालिकाले काम गरिरहेको बताउनु भयो ।
नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, नेकपाका बच्चुलाल चौधरी ,जसपाका सुदम्बर यादव , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, कोभिड १९ सिआइसिटी टिम संयोजक विकास कुमार गुप्ता , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल सरकारको रु १० लाखको सहयोग र बाँकी रकम नगरपालिकाले सहयोग गरी ५ बेडको कोभिड अस्पतालको उद्घाटन गर्न सफल भएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले जानकारी गराउनु भयो ।कोभिड अस्पतालमा १ जना डाक्टर, २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहने कुराको समेत गुप्ताले जानकारी गराउनु भयो ।
स्वागत मन्तव्य प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झाले गरेका थिए भने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्