विगत सात महिनादेखि बन्द रहेका बीरगंजका विद्यालय आजबाट सुचारु

बीरगंज । विगत सात महिनादेखि बन्द रहेका बीरगन्ज महानगरपालिकामा रहेका निजी क्षेत्रका विद्यालयहरुमा आजबाट पठन पाठन सुचारु भएको छ ।
पहिलो चरणमा आजबाट कक्षा ८ देखि १० सम्मको पठन पाठन सुचारु गरिएको प्याब्सनका वीरगंज महानगर अध्यक्ष आलोक चौरसियाले जानकारी दिनुभयो ।
विद्यालय खोल्ने सम्बन्धमा जिल्ला संकट व्यवस्थापन केन्द्रले मौखिक रुपमा अनुमति दिएपछि बीरगन्जका निजी विद्यालयहरुमा आजबाट पठनपाठन शुरु भएको हो ।
नगर क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु आइतबारबाट सुचारु हुने चौरसियाले बताउनुभयो ।
यता, बीरगन्जका सामुदायिक विद्यालयहरु भने हिजो साँझ मात्र जिल्ला संकट व्यवस्थापन केन्द्रले मौखिक अनुमित दिएपछि खुल्ने तयारी नभ्याएको कारण आइतवारबाट मात्रै विद्यालय संचालन हुने भएका छन् ।
लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा अहिले प्रथम चरणमा कक्षा ८, ९ र १० सम्मका कक्षाहरु मात्र सुचारु गर्न भनिएको बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताउनुभयो । तर, विद्यालय सञ्चालन गर्दा अनलाइनको पहुँच भएकाहरुलाई अनलाइनमै र बाँकीलाई अभिभावकको स्वीकृति पश्चात विद्यालयमा बोलाएर पढाउन निर्देशन दिइएको छ ।
साथै, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपले पूरा गर्नुपर्ने समेत निर्देशन दिइएको मेयर सरावगीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्