पुनर्निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन, रानीपोखरीको टाइमलाइन

काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गर्नुभयो ।
त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरती लिनुभयो र पोखरीमा जल अर्पण पनि गर्नुभयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थिति अन्य अथिति एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी एवं कर्मचारीहरुले विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल पोखरीमा अर्पण गर्नुभएको थियो । त्यसअघि बालगोपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा र क्षमा पूजा गरिएको थियो ।

रानीपोखरी निर्माण कार्य उपभोक्ता समितिमार्फत् तथा बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गरिएको हो । यस कार्यको डिजाइन तथा सुपरीवेक्षणका लागि विभिन्न विषयगत विज्ञहरुसहितका परामर्शदाता परिचालन गरिएको थियो । पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका क्षेत्रबाट समेत कालिगढ ल्याइएको थियो ।
रानीपोखरी पुनर्निर्माणका सम्पूर्ण कार्यहरुको समन्वय, सहजीकरण एवं अनुगमनका निम्ति प्राधिकरणको नेतृत्वमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, सम्पदाविद्हरु समेत रहेको समन्वय तथा अनुगमन समिति गठन गरि परिचालन गरिएको थियो ।
रानीपोखरी एवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैँया खर्च भएको छ । प्राधिकरणले रानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पु¥याएका छ ।
रानीपोखरी टाइमलाइन
– १७२६ – तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लद्वारा निर्माण ।
– जंगबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण ।
– १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै पुनर्निर्माण ।
– २०७२ बैशाख १२ – भूकम्पबाट क्षतिग्रस्त ।
– २०७२ माघ २ – भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास ।
– २०७४ पुस १३ – काठमाडौं महानगरको कार्यपालिका बैठकद्वारा रानीपोखरीको पुनर्निर्माणबारे सुझाव दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन ।
– २०७४ माघ ७ – कार्की संयोजकत्वको समूहद्वारा बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने रायसहित प्रतिवेदन पेश ।
– २०७५ कार्तिक २० गते – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकद्वारा मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण गर्ने निर्णय ।
– २०७५ माघ १४ – मन्त्रिपरिषद्द्वारा रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी ।
– २०७५ फागुन १५– रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन ।
– २०७५ फागुन १८ – रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खाल पुनर्निर्माणका लागि अजयरत्न स्थापितको संयोजकमा पाँच सदस्यीय उपभोक्ता समिति गठन ।
– २०७६ असार २४ – रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र पुलको पुनर्निर्माण तथा सौन्दर्यकरणका लागि सीए/तुलसी कन्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता ।
– २०७७ असोज १५ –बालगोपालेश्वर मन्दिरको शीर्षमा १२३.७ केजी तामाबाट बनेको र सुनको जलप लगाइएको गजुर स्थापना ।
– २०७७ कात्तिक ५ – सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन ।
श्रोतः पुनर्निर्माण प्राधिकरण








प्रतिक्रिया राख्नुहोस्