तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पाटन विमानस्थलबाट २५ बर्षपछि हवाई उडान पुनः सुरु

बैतडी । बैतडीको पाटन विमानस्थलबाट २५ बर्षपछि हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर आजदेखि हवाई उडान सुरु भएको हो । वि.स. २०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठुलो विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।

समिट एयरले हप्ताको एकदिन उडान भर्ने गरि नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको हो । पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको प्रमुख बुढथापाले बताउनुभयो । पहिलो दिन शुक्रवार हवाई उडान गरिएको भएपनि अबदेखि बैतडीमा हप्तामा एक दिन मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिनुभयो ।

धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उहाँले बताउनुभयो । धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैंया तोकिएको छ । पहिलो दिन धनगढीबाट विमानमार्फत बैतडी आउनुभएका पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नियमित उडानले खुसी लागेको बताउनुभयो ।

विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनमा आएपछि यहाँका बासिन्दामा उत्साह थपेको स्थानीय चमन भण्डारीले बताउनुभयो । यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button